Tuesday, August 6, 2013

भाजपा अध्यक्षले कोइरालालाई भने-नेपाल हिन्दु राष्ट्र होस्..



नयाँदिल्ली । भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले नेपाल पुनः हिन्दु राष्ट्र होस भन्ने आफ्नो चाहना भएको बताउनु भएको छ ।
भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँगको भेटमा सिंहले भारतीय जनता पार्टीले नेपालमा निर्वाचन भएर स्थायीत्व सहित लोकतन्त्र संस्थागत भएको र हिन्दु राष्ट्र कायम भएको हेर्न चाहेको स्पष्ट पार्नुभयो । यद्यपि उहाँले हिन्दु राष्ट्र होस भन्ने आफूहरुको चाहना भए पनि त्यसको लागि नेपालमा कुनै पनि किसिमको हस्तक्षेप गर्ने पक्षमा नरहेको बताउनु भयो । उहाँले भन्नुभयो-’हामी नेपालमा राजनीतिक स्थायीत्व, विकास र अखण्डता चाहन्छौं ।’
मंसिर ४ मा कुनै पनि हालतमा निर्वाचन हुनु पर्नेमा जोड दिदै भाजपा अध्यक्ष सिंहले निर्वाचनबिना नेपालको राजनीतिक गतिरोधले निकास नपाउने र नेपालमा स्थायीत्व नहुने बताएको थियो ।
प्रतिउत्तरमा कोइरालाले नेपालका राजनीतिक दलहरुवीच निर्वाचनलाई लिएर सकारात्मक छलफल भइरहेकोले सबै दलहरु निर्वाचनमा जाने विश्वास ब्यक्त गर्नै निर्वाचन भएरै छाड्ने बताएको छ ।
 निर्वाचनपछि सहयोगमा बढाउने आश्वासन
भारतीय विदेशमन्त्री सलमान खुर्सिदले निर्वाचन भएर राजनीतिक स्थायीत्व भएपछि नेपालको आर्थिक विकासका लागि भारतले दिदै आएको सहयोगमा बृद्धि गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँगको दिवाभोजसहितको भेटवार्तामा खुर्सिदले नेपालमा राजनीतिक स्थायीत्व नभई विकास नहुने भएकोले निर्वाचन अपरिहार्य भएको बताउनुभयो ।
उहाँले प्रमुख दलहरु लचक भई असन्तुष्टहरुलाई निर्वाचनमा ल्याउन प्रयास गर्नु पर्ने तर, कुनै दल नआउँदैमा नेपालको भविष्य र राजनीतिक गतिरोधको निकाससँग जोडिएको निर्वाचन रोकिन नहुने बताउनु भयो । नेपालको लोकतन्त्रको स्थायीत्वको लागि समेत निर्वाचन अपरिहार्य भएकोले निर्वाचनकालागि लोकतान्त्रिक दलहरु मिलेर अघि बढ्नु पर्ने उनको सुझाव थियो । भेटमा नेपाल र भारतीय सीमा क्षेत्रमा देखिएका डुबानको समस्या समाधान गर्न दुबै देशको संयुक्त संयन्त्र निर्माण गरेर अघि बढ्ने सहमति भएको छ ।
भेटमा कांग्रेस सभापति कोइरालाले असन्तुष्ट दलहरुसँग सकारात्मक छलफल भएकोले निर्वाचनको बातावरण निर्माण भएर मंसिर ४ गते नै निर्वाचन हुने बताउनु भएको छ ।

0 comments:

Post a Comment