Wednesday, August 7, 2013

प्रचण्डको खतरनाक रणनीति, सेना अगाडि आउन सक्ने चेतावनीले वैद्य माओवादीमा तरंग..

काठमाडौ । चुनावी वातावरण बनाउन गम्भीर गृहकार्य भइरहेको देखाउन वार्ताको नाटक गरिए पनि एकीकृत नेकपा माओवादीका अध्यक्ष एवम् उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भित्रभित्रै अर्कै कसरतमा लागेको पाइएको छ। प्रचण्डको त्यस्तो रणनीतिबारे प्रचण्डकै अभिव्यक्तिबाट चाल पाएपछि नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य लगायत पदाधिकारी तरंगित बनेका छन्। र, प्रचण्डको रणनीतिविरुद्ध वैद्यले पनि समानान्तर रूपमा काउन्टर रणनीति बनाइरहेका छन्।
झट्ट हेर्दा एमाओवादी अध्यक्ष प्रचण्ड वार्ताको वातावरण बनाउन लागिपरको देखिन्छ। बरु आफ्नो पार्टीले हार्नुपरोस् तर चुनावचाहिँ हुनुपर्छ भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। तर, भित्रभित्रै उनी वार्ता भाँड्ने, चुनाव हुन नसकेको दोष वैद्यहरूलाई बनाएर आफ्नो हात माथि पार्ने खेलमा लागिरहेको सूत्रहरूको विश्लेषण छ। स्रोतका अनुसार, पछिल्लो एक महिनायता प्रचण्ड र वैद्यबीच टेलिफोन वार्ता नियमित भइरहेको छ। यसबीचमा प्रचण्डले मनोवैज्ञानिक रूपमा गलाउने र त्रास भर्ने खालका कुरा वैद्यसँग गरिरहेका छन्। प्रचण्डले वैद्यलाई पूरा हुन सक्ने माग मात्र लिएर आउनू, पूरा हुन नसक्ने माग लिएर नआउनू, पछि पूरा नभएमा मुख देखाउन गाह्रो हुन्छ भन्ने गरेका छन्। यसैगरी, पूरा नहुने माग लिएर आएमा वार्ता भाँडिन सक्ने र वार्ता सफल नभए मुलुक भीडन्तको बाटोमा जाने विश्लेषण प्रचण्डले वैद्यलाई सुनाएका छन्। भीडन्तको बाटोमा मुलुक गएपछि दलहरूको हातबाट राजनीति पूर्णतः खोसिने र राष्ट्रपति वा नेपाली सेना अगाडि आउन सक्ने डर पनि वैद्यलाई देखाएका छन्। प्रचण्डको यस्तो कुराबाट वैद्य पक्ष सशंकित मात्र भएको छैन, प्रचण्ड रणनीतिका अन्तर्य पनि पहिल्याइसकेका छन्।
वैद्य पक्षको विश्लेषण र प्रचण्डका कतिपय व्यवहारलाई एकै ठाउँमा राखेर हेर्ने हो भने प्रचण्ड साँच्चिकै चुनाव चाहेका छन् भन्न सकिने ठाउँ देखिँदैन। किनभने, उच्चस्तरीय राजनीतिक समितिले वैद्य लगायत असन्तुष्ट पक्षलाई वार्तामा बोलाउँदा निहुँ खोज्ने प्रकृतिको बेहोरा पत्रमा पार्ने पनि प्रचण्ड नै हुन्। वैद्यहरूले पनि सशर्त वार्तामा नजाने भन्दै निसर्त वार्ताका लागि पत्राचार गर्नुपर्ने अडान लिए। तर, राजनीतिक समितिका तर्फबाट दोस्रो पत्राचार गरिएन। आलटाल र बिलम्ब गर्दै समय कटाउने काम प्रचण्डका तर्फबाट भयो। त्यसमा अन्य दलहरू पनि मुकदर्शक बने। दोस्रो पत्र राजनीतिक समितिले होइन, सरकारले पठायो। मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आफ्नै प्रयासबाट वैद्यहरूलाई वार्तामा बस्न राजी गराए। अहिले भित्रभित्रै प्रचण्ड वैद्य पक्षलाई उत्तेजित बनाउन र भाँड्ने खेलमा लागेको वैद्यनिकट स्रोतहरू बताउँछन्।
वैद्य पक्षको विश्लेषणमा, प्रचण्ड अहिले हतास र निराश मनःस्थितिमा छन्। एमाओवादी तल्लो तहसम्म विभाजित भएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गठबन्धन गरे पनि प्रचण्डको हितमा मोर्चा प्रयोग हुने स्थिति छैन। बरु मोर्चा अरु नै शक्तिकेन्द्रको इशारामा नाच्छ भन्ने कुरा विगतमै प्रस्ट भइसकेको छ। सबै राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूले उनलाई अविश्वनीयताको बिम्बका रूपमा लिन्छन्। केही समययता भारतको विश्वासपात्रका रूपमा आफूले काम गरेको ठाने पनि प्रचण्ड के कुरामा छर्लंग छन् भने, बाबुराम भट्टराई हुन्जेल भारतले सत्तारोहणका लागि आफूलाई हरियो बत्ती देखाउने छैन। बाबुराम भट्टराईले राजीनामा दिएपछि प्रचण्ड अभूतपूर्व संकटमा फसेका छन्। त्यसैले संविधानसभा निर्वाचन सम्पन्न भएपछि आफू प्रधानमन्त्री बन्न सकिन्न भन्ने निष्कर्षमा प्रचण्ड पुगेका छन्। अन्य शक्तिले पनि प्रचण्डलाई रणनीतिक उपयोगको हतियार मात्र बनाएको देखिन्छ। त्यसैले तत्काल निर्वाचन हुने हो भने आफ्नो अस्तित्व र औचित्य कमजोर बन्दै जाने र मुलुकको राजनीतिको मियो आफू बन्न नसकिने निष्कर्षमा
प्रचण्ड पुगेका छन्। फलतः उनी मुलुकलाई निकास दिनेभन्दा पनि द्वन्द्व बढाएर आफ्नो भूमिका स्थापित गर्ने ध्याउन्नमा लागेका छन्।
मुलुकमा द्वन्द्व र अराजकता बढेपछि संविधानसभा निर्वाचनले स्थापित गरिदिएको ठूलो पार्टीको नेताको छवि फेरि भजाउन सकिन्छ र समस्या समाधानका लागि देशी–विदेशी शक्तिले आफैलाई गुहार्न पुग्नेछन् भन्ने प्रचण्डको विश्लेषण रहेको छ। यसबाट आफ्नो हात माथि पर्ने ठानेका छन् उनले। बरु निर्वाचन समयमै भयो र शान्तिपूर्ण तरिकाले निकास निस्कियो भने आफू कमजोर भइन्छ भन्ने बुझाइ प्रचण्डको रहेको छ। चौतर्फी हतास र निराश भएका प्रचण्ड पुनः आफ्नो भविष्य द्वन्द्वमा खोज्न थालेका छन्। सधैँ द्वन्द्वमा खेल्ने बानी परेका प्रचण्डको मनोविज्ञान बुझेर नै वैद्य पक्षले पनि त्यस्तै रणनीतिक चाल चलेको छ। आफूमाथि सेना प्रयोग गरेर सिध्याउने खेल प्रचण्डले खेले भने आफू पनि कात्रो बाँधेर सामना गर्न तयार रहेको सन्देश वैद्यले प्रचण्डकहाँ पुर्‍याइसकेका छन्। अहिले वैद्यले वार्ता र बहिष्कार सँगसँगै भन्नुका पछाडि पनि यस्तै रणनीतिक दाउपेच निहित रहेको देखिन्छ। वार्ता सफल भए ठीकै छ, नभए पनि आफूमाथि हुन सक्ने सम्भावित दमनको सामनाका लागि गरेको तयारीबारे समेत वैद्यले प्रचण्डलाई जानकारी गराइसकेका छन्।
स्रोतअनुसार, वार्ताकै क्रममा वैद्यले चुनाव बहिष्कार सम्बन्धी प्रशिक्षण देशव्यापी बनाइसकेको छ। त्यसपछि उसले वार्ताका लागि दबाबस्वरूप प्रचारात्मक अभियान चलाउने छ। वार्ता सफल नभएमा आगामी दसैँपछि उम्मेदवारहरूलाई गाउँ पस्न नदिने कार्यक्रम गर्नेछ। निर्वाचन प्रचार प्रसारका कार्यक्रममा अवरोध गर्ने, एमाओवादीका भ्रष्ट र विदेशी एजेन्टको भण्डाफोर गर्ने कार्यक्रमसमेत वैद्य पक्षले तय गरिसकेको छ। चुनावको मिति नजिकिँदै गएपछि अनिश्चितकालीन नेपाल बन्द र हड्तालका कार्यक्रम गर्नेसम्मका कार्यक्रमको तयारीमा वैद्य पक्ष रहेको छ। त्यसका लागि पूर्वलडाकूलाई तयारी हालतमा राख्न लागिएको छ।
अहिले वैद्य लगायत ३३ दलीय मोर्चा वार्तामा बस्न राजी भएको छ। बैठकका एजेन्डा तय गर्न दिनहुँ बैठक बसिरहेको मोर्चाले पछिल्लो सरकारका तर्फबाट प्राप्त पत्रलाई सकारात्मक भनेको छ। र, यो वातावरण चार दलको प्रयासले नभई रेग्मीको प्रयासले सम्भव भएको निष्कर्षमा समेत वैद्य पक्ष पुगेको छ। रेग्मी सरकार गठनप्रति नीतिगत रूपमै असहमति जाहेर गरेर सरकारको खारेजीको माग गर्दै आएको वैद्य पक्ष रेग्मी सरकारसँग वार्ता गर्न तयार हुनुले समेत प्रचण्डसँग बिच्किएको स्पष्ट हुन्छ। यसबीचमा वैद्यले वार्ताका लागि विभिन्न पक्षसँग परामर्श समेत गरेको छ। त्यसक्रममा प्रचण्ड जालमा नफस्न र रेग्मी सरकारको राजीनामाको सट्टा कांग्रेस, एमाले र सरकारसँगको सम्बन्ध सुमधुर बनाएर आफ्ना माग पूरा गराउन लाग्नुपर्ने सुझाव समेत वैद्यले पाएका छन्। यति मात्र होइन, बहिष्कार र रेग्मीको राजीनामा दुबै एजेन्डा उपलब्धिमूलक हुन नसक्ने र प्रचण्डले वार्ता बिथोल्ने षड्यन्त्रमा लागेकाले पनि वैद्यले चनाखो भएर वार्ताबाटै समाधान खोज्नुपर्ने सुझाव धेरै पक्षबाट पुगेका छन्। रेग्मीको राजीनामा भन्दा अहिलेकै सरकारबाट आफ्ना माग पूरा गराउने रणनीति वैद्यका लागि फलदायी हुन सक्ने परामर्श विभिन्न पक्षले दिएको बुझिएको छ।
अर्को कुरा के स्पष्ट छ भने बहिष्कारको बाटोमा लागे भने अन्तर्राष्ट्रमा वैद्यका कारणले निर्वाचन हुन नसकेको सन्देश जानेछ। प्रचण्डको षड्यन्त्रमूलक रणनीतिको साधन वैद्य माओवादी बन्नेछ। अर्कोतिर मुलुक अराजकतातिर उन्मुख हुनेछ। राष्ट्रिय–अन्तराष्ट्रिय समर्थन पनि बहिष्कारकर्तालाई जाने छैन, चुनाव भाँड्न भित्रभित्रै भूमिका खेलेका प्रचण्डप्रति नै सहानुभूति बढ्नेछ। माओवादीले गर्ने बहिष्कार वा आन्दोलनको पक्षमा जनमत किन पनि लाग्ने छैन भने हिजोको सशस्त्र द्वन्द्व र शान्ति प्रक्रियामा आइसकेको माओवादीबीच आँखाले देख्न सकिने भिन्नता आमजनताले महसूस गरिसकेका छन्। हिजो जसले पालन पोषण र स्रोधसाधनमा सहयोग गरेको थियो, त्यही शक्ति दाहिना हुन सक्ने सम्भावना पनि देखिँदैन। त्यसकारण वैद्यका लागि सुरक्षित र मुलुकका लागि हितकारी बाटो वार्ताबाट सकेसम्मका आफ्ना माग पूरा गराएर निर्वाचनमा सहभागी हुनु नै हो। बरु वैद्य निर्वाचनमा सहभागी हुन्छ भने निर्वाचन सार्न सकिने एमाले नेता माधव नेपालले सार्वजनिक अभिव्यक्तिमार्फत् जानकारी गराइसकेका छन्। राजनीतिक स्थिरता र लोकतन्त्रको संवर्द्धन हुने मूल्यमा सामान्य प्राविधिक विषयमा सरकार, कांग्रेस, एमाले लगायत दलहरू पनि चचिलो बन्नैपर्छ। यसमा आश्वस्त पार्ने जिम्माचाहिँ वैद्यपक्षकै हो। तर, प्रचण्डको यस रणनीतिबाट कांग्रेस–एमाले भने चनाखो हुनैपर्छ।

-दृष्टि

0 comments:

Post a Comment