Sunday, July 21, 2013

वैद्यको बहिस्कार र प्रचण्डको चुनावी अभियान एकै दिन "अब जनता कतातिर ....


विस्तारित बैठकमा प्रचण्डले भने- 'हामी भेडा हैनौं, सिंह हौं'
 

६ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीले आगामी संविधानसभालाई केन्दि्रत गरेर ‘धक्कामूलक’ एकमहिने चुनाबी अभियान चलाउने भएको छ । तर, यसलाई संयोग नै मान्नुपर्छ, वैद्य माओवादीको बहिस्कार अभियान र प्रचण्डको चुनावी अभियान एकै दिनबाट, अर्थात् साउन १० बाटै शुरु हुनेछ ।

आइतबार सम्पन्न एमाओवादीको तीन दिने विस्तारित बैठकले चुनावी अभियान चलाउने निर्णय गरेको हो । यो अभियान लिएर प्रत्येक चुनाव क्षेत्रमा एकजना केन्द्रीय सदस्य वा सल्लाहकारहरु खटिने छन् । विस्तारित बैठकले सबै केन्द्रीय सदस्यका लागि कार्यक्षेत्र समेत तोकेको छ ।

यस्तो छ एमाओवादीको अभियान

एउटा राज्य समितिका केन्द्रीय सदस्यलाई छिमेकी राज्य समितिअन्तरगत पर्ने जिल्लामा खटाइएको छ । जस्तो, नेवाका केन्द्रीय नेतालाई ताम्सालिङ र ताम्सालिङका नेतालाई नेवामा खटाइएको छ । लिम्बुवानका केन्द्रीय नेतालाई किरात प्रदेशमा र किरात प्रदेशका नेतालाई लिम्बुवानमा साटफेर गरिएको छ ।

फिल्डमा खटिएका नेताहरुले साउन १० देखि भदौ ९ गतेसम्म कार्यक्षेत्रमा खटिएर भदौ १० गते केन्द्रीय समितिको बैठकमा आफ्नो रिपोर्ट प्रस्तुत गर्नुपर्नेछ । विस्तारित बैठकले एउटा निर्वाचन क्षेत्रमा एक जना केन्द्रीय सदस्य र सदस्यले नपुगेका क्षेत्रमा सल्लाहकारलाई खटाउने निर्णय गरेको छ । २ सय ४० चुनाव क्षेत्रमध्ये नेताको आफ्नो गृहजिल्लाबाट अन्यत्रै जिम्मेवारी दिइएको छ । केही मधेसी नेतालाई पहाडी जिल्लामा समेत खटाइएको छ । बैठकमा केही मधेसी नेताहरुले आफूहरुलाई पहाडमा खटाउन माग गरेका थिए । एक महिनासम्म नेताले आफ्नो जिम्मेवारीमा परेको चुनाव क्षेत्रमा खट्नपर्नेछ ।

तर, पार्टी अध्यक्ष प्रचण्ड, निवर्तमान उपाध्यक्षहरु र महासचिवलाई भने चुनाव क्षेत्रमा खटाइएको छैन । गैरभूगोलका केही नेतालाई सुदुर पश्चिमका दुर्गम जिल्लामा खटाइएको छ । ‘केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरु, सल्लाहकार समितिका सदस्यहरु गाउँगाउँमा जाने, टोलटोलमा जाने, दुरदराजमा जाने, एकमहिने अभियानअन्तरगत जनतासँग जोडिने, जनताका समस्याहरु बुझ्ने र पार्टीलाई गतिशील बनाउने निर्णय गरेका छौं’ बैठकको समापन समारोहमा माओवादी अध्यक्ष प्रचण्ड भन्नुभयो-’यो निर्णय आफैंमा एउटा धक्कामूलक निर्णय हुनेछ ।’

माओवादीले जहिले पनि धक्कामूलक कार्यक्रम गर्ने गरेको भन्दै उहाँले अभियानले मंसिर ४ को निर्वाचन सुनिश्चित गर्ने दाबी गर्नुभयो । प्रचण्डले भन्नुभयो-’निर्वाचनमा नै सम्पूर्ण तागत लगाउने र निर्वाचनको पक्षमा जनपरिचालनको अभियान हामीले पारित गरेका छौं । यसले देशमा यस्तो वातावरण बनाउने छ, सम्पूर्ण राजनीतिक शक्तिलाई निर्वाचनमा आउने प्रेरित गर्नेछ ।’ प्रचण्डले नेताहरुलाई निर्देशन दिँदै भन्नुभयो- ‘हामीले जुन अभियानको निर्णय गरेको छौं । त्यसको अक्षरस पालना गरियोस् । ७५ जिल्ला, २ सय ४० निर्वाचन क्षेत्र, प्रत्येक गाउँमा पुगेर झकझक्याइयोस् । माओवादी बेग्दै धातुले बनेको पार्टी हो, अरुजस्तो हैन, जनताको घर दैलोमा गएर भनौं ।’

‘हामी माओवादी फेरि आयौं, माओवादी आयो भन्ने जनतालाई विश्वास दिलाऔं ।’ विस्तारित बैठकको समापनमा प्रचण्डले भन्नुभयो । एमाओवादी अध्यक्ष प्रचण्डले उद्घाटन मन्तव्यमा जस्तै समापनका क्रममा पनि १२ बुँदे सहमतिका सहयात्री पार्टीहरुलाई पनि एकतावद्ध गर्ने र अब निर्वाचनको माहौल बनाइने बताउनुभयो । उहाँले तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने र जनताको संविधान बनाउन अघि बढ्ने बताउनुभयो ।

0 comments:

Post a Comment